बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी ९एमाले० केन्द्रीय कमिटीको बैठकमा बिभिन्न १५ एजेण्डामा छलफल हुनेछ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा २५ र २६ मंसिरमा बस्ने बैठकमा छलफल हुने एजेण्डा तय भएको छ ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार विभिन्न १५ एजेण्डामा बैठकमा छलफल हुने बताए । शपथग्रहण गर्न बाँकी केन्द्रीय सदस्यलाई शपथग्रहण गराउने, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी गठन, पोलिटव्युरो कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, नेताका जिम्मेवारी विभाजन, प्रदेशमा रिक्त पदाधिकारी मनोनयन केन्द्रीय कमिटीबाट हुने छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै, जिल्ला र प्रदेश अधिवेशन मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, नेताको वरियाता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान बैठकमा छलफल हुन्छ । यसअघि, महासचिव तथा सचिव बैठकले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने निर्णय गरेको थियो ।

बैठक ११ बजे सुरु हुने बताइएको छ । एमालेले महाधिवेशन अघिसम्म केन्द्रीय कमिटीलगायत बैठक ललितपुर च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा राख्दै आएको थियो । महाधिवेशनपछि केन्द्रीय कमिटी संख्या बढेर ३ सय १ भएपछि च्यासलमा स्थान अभाव हुने भएकाले भक्तपुरमा बस्न लागेको हो ।

एमाले १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी पदाधिकारी र सदस्य बैठक शपथग्रहणलगत्तै सौराहा बसेको थियो ।