फुङ्लिङ, \ ताप्लेजुङको फुङ्लिङ नगरपालिका – ७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दानी गरिरहेका छन । उनी सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाई पालनतिर लागेका हुन।

उनले सातामा रु चार हजारको बट्टाईको अण्डा बिक्री गर्दै आएका छन । बजारमा प्रति अण्डा रु दशमा बिक्री हुँदै आएको छ । मासुका लागि एउटा बट्टाई रु २०० देखि ४०० सम्ममा बिक्री गर्दै आएको तामाङले बताए । लामो समय घडी, रेडियो बनाउने मेकानिक पसल खोलेर बसेको तामाङ बट्टाई चरासँग रमाउन थालेको दुई वर्ष भयो । उनले अहिले घरमा ३०० भन्दा बढी बट्टाई पाल्दै आएका छन ।

OM Sai Pathibhara Hospital

राम्रो आम्दानीको स्रोतसँगै घरको सौन्दर्यसमेत दिने भएकाले बट्टाई व्यवसायबाट आफू सन्तुष्ट रहेको तामाङको भनाइ छ । उनले भने, “अन्य जिल्लाबाट चल्ला ल्याउन पथ्र्यो । बाहिर जिल्लाबाट चल्ला ल्याउँदा धेरै बच्चा मर्ने भएकाले अहिले आफैँ हेचिङ मेसिन बनाएर बच्चा उत्पादन गर्न थालेको छु ।” तामाङ लामो समयसम्म मेकानिक क्षेत्रमा काम गरेकाले बट्टाईको चल्ला उत्पादन गर्ने हेचिङ मेसिन ताप्लेजुङमै पहिलोपटक आफैँले बनाएको दाबीसमेत गरे ।

कृषि क्षेत्रमा राम्रो सम्भावना देखेर फुङ्लिङ नगरपालिका –५ का डिल्ली लिम्बूले एक दशकदेखि सञ्चालन गर्दै आएको कपडा पसल बेचेर अहिले कृषि क्षेत्रमा रमाउन थालेका छन । लिम्बूले पसल बेचेर फुङ्लिङ नगरपालिका – ८ मा १०० रोपनी जग्गा खरिद गरेर व्यावसायिक रुपमा मुक्कुमलुङ मोल्टी कृषि फार्म स्थापन गरेसँगै बट्टाई पालन गर्दै आएका छन । लिम्बूले लोकल कुखुरा, कोरथनाथ कुखुरा, विभिन्न जातका बाख्रा, बङ्गुर, फलफूलतर्फ केरा, सन्तला, कागतीलगायत व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन । त्यसमध्ये बट्टाई पनि एक शाखाको रुपमा व्यावसायिक पालन गर्दै आएको उनेले बताए । अहिले र्फाम मा ५०० को हाराहारीमा बट्टाई रहेको उनको भनाइ छ । दैनिक ९० भन्दा बढी अण्डा उत्पादन हुँदै आएको छ ।

मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ । सानो क्षेत्रफलमा पालन गर्न सकिने र रोगको प्रकोप देखा नपर्ने हुँदा सहजरूपमा पालन गर्न सकिने भएकाले बट्टाई पालनप्रति किसानको आकर्षण बडेको प्रेमसिंह तामाङले बताए । “यो चरा चिसो मौसममा बढी बिक्री हुनेरहेछ । घरमै खानका लागि किन्ने धेरै आउँछन्”, उनले भने, “बजारको चिन्ता छैन । जति पाले पनि बिक्री हुन्छ ।”

बट्टाई पालनका लागि थोरै लगानीबाट सुरु गर्न सकिने र डेढ महिनाको भएपछि निरन्तर आम्दानी गर्न सकिने भएकाले बट्टाई चरा राम्रो आम्दानीको स्रोत बन्दै गएको लिम्बूको भनाइ छ । “अण्डासँगै चल्लाको बजार राम्रो रहेको छ”, उनले भने, “अहिले व्यावसायिकरुपमा चल्ला उत्पादन गर्दै आएको छु ।” सानो ठाउँ सानो लगानी र कम परिश्रममा ठूलो आम्दानी लिन सकिने भएकाले बट्टाई पालनप्रति आकर्षण बढ्दै गएको बताइएको छ ।