एजेन्सी / अफ्रिकी मुलुक केन्यामा नेपाली युवतीको तस्करी गर्ने क्यानेडियन व्यापारी असिफ अमिरेल अलीबई जेथलाई केन्याको मोम्वासा अदालतले ३० वर्षको जेल सजाय तोकेको छ । 

उनलाई सन् २०१९ मा १२ नेपाली युवतीलाई गैरकानुनी रुपमा आफ्नो डान्स क्लबमा नृत्य गर्न लगाइएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

OM Sai Pathibhara Hospital

अदालतले विदेशी नागरिकलाई मानव तस्करी गरी श्रम इजाजत नलिई काममा लगाएको ठहर गर्दै जेल सजाय र १० लाख केन्याली मुद्रासम्म जरिवाना तोकेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अदालतले उनलाई १२ नेपाली युवतीलाई बन्धक बनाएर शोषण समेत गरेको ठहर गरेको छ । उनले मोम्वासास्थित अम्के प्लाजामा ‘रंगिला ग्रिल एण्ड बार’ सञ्चालन गर्दै आएका थिए । 

मुजुरा नाच गर्न ल्याइएको १२ नेपाली युवतीमध्ये दुई जनाको उमेर १६ र १७ थियो भने आठजनाको २२ देखि २६ वर्ष उमेरसमूहका थिए । दुई जना भने ३० वर्षमाथिका थिए ।

केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेका छन् । नेपाल प्रहरीले पनि केन्यामा युवती पठाउन सक्रिय रहेको भन्दै एजेन्ट ललितसिंह सुवाललाई पक्राउ गरेको थियो । 

एउटा युवती पठाएबापत एजेन्टलाई ५० हजार रुपैयाँ दिने गरिएको छ । नेपाली युवतीलाई नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट यूएई हुँदै केन्या पुर्‍याउने गरिन्छ ।

मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाएर लगिने युवतीलाई डान्सबारका मालिकले बन्दीको हैसियतमा राख्ने गर्छन् । कान्तिपुरबाट