एजेन्सी / स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टापछि नै पदबाट राजीनामा दिएकी छन् ।

सरकारमा सहभागी पार्टीले अलग भएको घोषणा गरेपछि उनले राजिनामा दिएकी हुन् । गठबन्धन सरकारमा रहेको एउटा दलले सत्ता साँझेदारीबाट बाहिरिएपछि उनले राजिनामा दिएकी हुन् । सरकारमा सहभागी ग्रीन पार्टी बजेट प्रति असन्तुष्ट हुँदै सत्ता साँझेदारीबाट बाहिरिएको थियो ।

‘गठबन्धमा विभाजन भएपछि राजीनामा दिएकी हुँ,’ राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्र्याटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि एकल बहुमतसहित आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छन् ।

५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री पनि थिइन् । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डरसन नियुक्त भएकी थिइन्

संसद्का ३४९ सांसद मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए । बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमा रहेका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टीले सरकारबाट बाहिरिने घोषणा गरेका थिए । स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।

एक दिनको लागि भए पनि उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् ।