कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बोहुला कुकुरको टोकाईबाट १८ जना घाइते भएका छन् । 

बहुला कुकुरले बुधबार र बिहीबार गरी दुई दिनको अवधिमा शुक्लाफाँटा –४, ११ र १२ का १८ जनालाई टोकेर घाइते बनाएको हो ।

OM Sai Pathibhara Hospital

कुकुरले २१ पशुचौपायालाई समेत टोकेको छ । स्थानीय बासिन्दाका अनुसार तीन बङ्गुर, दुई बाख्रा, एक पाडी, सात कुकुर तथा सात गोरुलाई समेत कुकुरले टोकेको छ ।

घाइते हुनेमा वडा –४ का ६० वर्षीय हरिसिंह राना, १० वर्षीया बालिका रोशनी राना, १८ वर्षीया रविना राना, १५ वर्षीय आकाश राना, २३ वर्षीय रविशना राना, ७ वर्षीय जेन राना, २९ वर्षीया ममता राना, १२ वर्षीय सुशील राना, ८ वर्षीय सुशान्त राना, ३० वर्षीय वीरेन्द्ररी राना, ९ वर्षीया लक्ष्मी राना र ६ वर्षीय जेनिस राना रहेका छन् ।

त्यस्तै, वडा –११ कलुवापुरका ५० वर्षीय राजबहादुर सेटी, ४० वर्षीया मन्जरी साउँद, ३२ वर्षीया लक्ष्मी नाथ, २५ वर्षीय रमेश सेटी र ५५ वर्षीय रामबहादुर ऐरलाई कुकुरले घाइते बनाएको छ ।

घाइते सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

वडाध्यक्ष ज्ञानबहादुर बिष्टले कुकुरले सर्वसाधारण र चौपायालाई टोक्न थालेपछि नगरपालिकाको पशु शाखालाई नियन्त्रणका लागि पहल गर्न जानकारी गराइएको बताए ।

 ‘पशु शाखालाई जानकारी गराइसकेका छौँ,’ उनले भने, ‘वडा क्षेत्रमा छाडा कुकुर धेरै छन् । सबैलाई रेबिजविरुद्धको सुई लगाउनका लागि कार्य अगाडि बढाउन भनेको छु।’

कुकुरले बाटोमा हिँड्नेहरुलाई र घरमै बाँधिएका पशुचौपायालाई टोक्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बाह्य क्षेत्रमा हिँड्डुल गर्नसमेत डराएर हिँड्नुपर्ने अवस्था सृजना भएको छ ।