बिर्तामोड / नेकपा एमालेको संरक्षणमा कानुनी कारवाहीबाट जोगिँदै आएका अर्बौँ रुपैयाँ ठगीमा संलग्न सिभिल समुहका अध्यक्ष समेत रहेका पूर्व सांसद इच्छाराज तामाङ विरुद्ध १४ सय ११ जनाले उजुरी दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै कानुनी कारवाहीमा तानिएका एमालेका पूर्व सांसद तामाङ विरुद्ध आफूहरूको ५ अर्ब ४९ करोड रुपैयाँ ठगी गरेको भन्दै १४ सय ११ जनाले उजुरी दिएका हुन् । सरकार परिवर्तन भए लगत्तै पक्राउ परेका तामाङ यतिबेला नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोका हिरासतमा रहेका छन् ।  

OM Sai Pathibhara Hospital

पक्राउ परेका तामाङ विरुद्ध सङ्गठित अपराध र ठगीमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान जारी रहेकाले सोमबार अदालतबाट पुन म्याद थपको तयारी भएको ब्युरोका प्रवक्ता एसपी श्याम कुमार महतोले जानकारी गराएका छन् ।

गत असोज १८ गते सीआइबीले एमालेका पूर्व सांसद तामाङ  र सिभिल सहकारीका अध्यक्ष तथा उनका मामा ससुरा पर्ने केशवलाल श्रेष्ठसहित १२ जना कर्मचारीलाई पक्राउ गरेको थियो ।

सिभिल सहकारीमा सर्वसाधारणले बचत गरेको ८ अर्ब भन्दा बढी रकम तामाङ नेतृत्वको समूहले अपचलन गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।