काठमाडौं । काठमाडौंमा सम्भावित अपराध नियन्त्रणका लागि प्रहरीले ठूलो कदम चालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले भविष्यमा गम्भीर अपराधमा संलग्न हुन सक्ने जोखिम भएका १,८७१ जनाको ‘क्रिमिनल प्रोफाइल’ तयार गरी उनीहरूको गतिविधिमाथि विशेष निगरानी सुरु गरेको छ।

यो सूचीमा विगतमा गुण्डागर्दी, तस्करी, लागूऔषध कारोबार, कर्तव्य ज्यान, ठगी, चोरी लगायतका जघन्य अपराधमा संलग्न भइसकेका र पुनः अपराध दोहोर्याउने जोखिम भएका व्यक्तिहरू समेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार यो सामान्य नामावली होइन, बरु अपराधको इतिहास, गतिविधि र जोखिम विश्लेषणका आधारमा तयार गरिएको ‘क्रिमिनल प्रोफाइलिङ’ हो।

उनका अनुसार पुराना घटनामा मुछिएका र नयाँ अपराध गराउन वा त्यसमा संलग्न हुन सक्ने सम्भावना देखिएका व्यक्तिलाई पहिचान गरी प्रोफाइल तयार पारिएको हो। यसबाट अपराध हुनुअघि नै रोकथाम गर्न र सुरक्षा रणनीति प्रभावकारी बनाउन सहयोग पुग्ने प्रहरीको विश्वास छ।

प्रहरीले यस्ता व्यक्तिहरूको गतिविधिमाथि निरन्तर निगरानी राख्ने र आवश्यक परे कानुनी दायरामा ल्याउने रणनीति अपनाएको जनाएको छ। यस अभियानलाई राजधानीमा अपराध नियन्त्रण र शान्ति सुरक्षा सुदृढ बनाउने दीर्घकालीन योजनाको हिस्सा मानिएको छ।