पर्वत । पर्वतको मालढुंगा–बेनी सडकखण्डमा गुडिरहेको मोटरसाइकलमाथि एक्कासि पहिरो खस्दा चालक गम्भीर घाइते भएका छन्। लगातारको वर्षासँगै पहिरोको जोखिम बढिरहेका बेला भएको यो घटनाले उक्त सडकखण्डको यात्रा थप जोखिमपूर्ण बनेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार करिब ३ः३० बजे जलजला गाउँपालिका–८ फर्सेस्थित मालढुंगा–बेनी सडकखण्डमा मालढुंगाबाट बेनीतर्फ जाँदै गरेको लु ४१ प २१५७ नम्बरको मोटरसाइकल माथि माथिबाट अचानक पहिरो खसेको थियो।
पहिरोमा परी मोटरसाइकल चालक जलजला गाउँपालिका–४ लामाखेत निवासी ४२ वर्षीय लालबहादुर सुवेदी गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।स्थानीयवासी र प्रहरीको सहयोगमा तत्काल उद्धार गरिएका सुवेदीलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ।
लगातारको वर्षाका कारण पर्वतीय सडकहरूमा पहिरो खस्ने जोखिम बढेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे विशेष सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय पर्वतले सर्वसाधारणलाई आग्रह गरेको छ।






































