काठमाडौं । वर्षौंदेखि न्यायको खोजीमा संघर्ष गरिरहेका निहारिका राजपुत र बिनु यादव फेरि सिंहदरबारको ढोका पुगे। उनीहरूको उद्देश्य एउटै थियो-सरकारसँग आफ्नो पीडा सुनाउने र न्यायको माग गर्ने। तर सिंहदरबारको गेटबाट उनीहरू न्याय लिएर फर्किएनन्, बरु पक्राउ परे।
गत बुधबार झरीमा भिज्दै सिंहदरबारको मुख्य गेटअगाडि धर्ना बसेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लियो। अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’ अन्तर्गत अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार सडक अवरुद्ध गरी सार्वजनिक आवागमनमा बाधा पुर्याएकाले कारबाही गरिएको हो।
निहारिका राजपुतको संघर्ष धेरै पुरानो हो। विवाहको आश्वासनपछि यौन शोषण भएको, त्यसबाट जन्मिएको बच्चाको पितृत्व स्वीकार नगरिएको भन्दै उनले लामो कानुनी लडाइँ लडिन्। डीएनए परीक्षणले पितृत्व पुष्टि भएपछि विवाह भए पनि आफूलाई श्रीमतीको हैसियत नदिइएको, घरेलु हिंसा र परिवारबाट अस्वीकार गरिएको भन्दै उनी फेरि न्याय माग्न सडकमा उत्रिएकी हुन्।
बिनु यादवको पीडा पनि उस्तै छ। प्रेम सम्बन्धपछि विवाह भए पनि श्रीमान् र परिवारबाट निरन्तर हिंसा, जबरजस्ती गर्भपतन गराइएको आरोप र सम्बन्धविच्छेदको विवादले उनको न्याय यात्रा अझै टुंगिएको छैन। जिल्ला अदालतको फैसला उच्च अदालतले उल्ट्याए पनि मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
आफूहरू पीडित भएको र राज्यबाट संरक्षण पाउनुपर्ने माग राख्दै सिंहदरबार पुगेका यी दुई महिलामाथि नै अहिले सार्वजनिक शान्ति भंग गरेको आरोपमा मुद्दा चलाइएको छ। घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ-न्याय माग्न सडकमा उत्रिने नागरिकलाई राज्यले सुनिरहेको छ कि अपराधी बनाइरहेको छ ।






































