पर्वत । पर्वतको कुश्मा–बागलुङ सडकखण्डमा बोलेरो जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। दुर्घटनापछि दुवैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बिहीबार  साँझ करिब ५ बजे कुश्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा कुश्माबाट बागलुङतर्फ जाँदै गरेको ध १ ज ११२६ नम्बरको बोलेरो जिप र बागलुङबाट कुश्मातर्फ आउँदै गरेको ग १४ प ७१६२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार म्याग्दीको धौलागिरि गाउँपालिका–२ निवासी २६ वर्षीय मिलन गोतामे र २० वर्षीया निरुता गोतामे घाइते भएका छन्। उनीहरूको खुट्टा, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रहरीले दुवैको अवस्था मध्यम रहेको जनाएको छ।

घाइतेलाई तत्काल उद्धार गरी प्रदेश अस्पताल कुश्मा पठाइएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न बोलेरो चालक बागलुङको बरेङ गाउँपालिका–५ निवासी २४ वर्षीय लोकेन्द्र खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुलाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।