ललितपुर / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेकि छिन् ।
बिहीबार पशुपतिस्थित क्रियापुत्री भवन पुगेर मन्त्री भुसालले नेपाल सरकारका तर्फबाट आगलागीबाट मृत्यु भएका परिवारका सदस्य अनार ताम्राकारलाई सहायता स्वरुप सात लाख ४५ हजार रूपियाँ प्रदान गरेकी हुन् ।

ललितपुरको पाटनस्थित चक्रबहिलको एक घरमा गत शुक्रबार साँझ घरको तेस्रो तल्लामा श्री ग्यासको सिलिन्डर पड्किएर आगलागी हुँदा निरोज ताम्राकारका ७१ वर्षीय बुबा लक्ष्मीकृष्ण ताम्राकार, ४० वर्षीया बहिनी अञ्जना ताम्रकार, ३४ वर्षीया श्रीमती रञ्जना ताम्रकार र ११ वर्षीय छोरा निर्जल ताम्राकारको घटनास्थलमै मृत्यु भएको थियो ।
बहिनी सिर्जना ताम्राकारको दुवै खुट्टा र ढाँड भाँच्चिएको थियो । सो अवसरमा मन्त्री भुसालले मृतक परिवारका बालबालिकालाई पढाउन छात्रवृत्ति दिलाउन महानगरपालिकासमक्ष सिफारिस गर्ने पनि बताएकी थिइन् । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।
सोही अवसरमा दक्षिणकाली गण सातदोबाटोको सशस्त्र बलको तर्फबाट ३० हजार ५०० रूपियाँसहित चामल छ बोरा, कम्बल तीन थान, स्लिपिङ्ग ब्याग दुई वटा र ब्लाङ्केट पाँच वटा बलका प्रमुख एवं प्रहरी उपरीक्षक किरण ढुङ्गानाले हस्तान्तरण गरे । पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीयस्तरमा ग्यास विस्फोट पीडित समिति गठन गरिएको छ ।
त्यसैगरी, ताम्राकार समाजले एक लाख रूपियाँ राखेर राहतकोष गठन गरेको छ । समितिले मनकारी व्यक्ति, सङ्घसंस्थालाई यथा सहयोगको लागि सार्वजनिकरुपमा आह्वान गर्दै आएको छ ।