काठमाडौँ / १२ औँ  राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ ।  बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० अजार जना गणक फिल्डमा खटिने भएका केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनकलाल श्रेष्ठले जानकारी दिए । 

राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको सुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने भएका छन् ।

OM Sai Pathibhara Hospital

उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसत एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिएका छन् ।

उनीहरूलाई दिने सबै प्रकारको तालिम पूरा भएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ । कुल २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ ।

जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गरे । जनगणनामा भाग लिनु कर्तव्यसमेत भएको भन्दै उनले कसैले पनि नाइ भन्न नपाउने बताए ।

एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने श्रेष्ठले बताए ।

अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मसान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ ।