बेनी / सामूहिक बलात्कारको अभियोगमा तीन युवा पक्राउ परेका छन् । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।
एक्लै सुतिरहेको अवस्थामा ती युवाले जबर्जस्ती धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकको खोजी गरिएको थियो।
उक्त घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरूकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्रहरीको भनाइ छ।
मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका कसुरदारलाई बलात्कारको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टि भएमा थप पाँच वर्ष सजाय हुने कानुनी व्यवस्था छ।