एजेन्सी  / सियरा लिओनको राजधानी फ्रीटाउनमा शनिबार अर्को लरीसँग जुधेँर विस्फोट हुँदा कम्तीमा ९८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 

आगलागी हुनुअघि इन्धन पोखिएको समाचार संस्था एएफपीले जनाएको छ ।  त्यसपछि लागेको आगोले नजिकै रहेका मानिस र सवारी साधनमा सल्किएको थियो। घटनामा परी १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन्। अधिकांशको शरीरका धेरै भाग जलेका छन्। आफ्ना सवारी साधनमा फसेका कारण कैयौंले ज्यान गुमाउन पुगेका थिए।

OM Sai Pathibhara Hospital

घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत छन्। शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो । त्यही भएर पनि मानवीय क्षति धेरै भएको अनुमान गरिएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरीएको छ। 

सियरा लिओनको राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थाका प्रमुख ब्रिमा बुरेह सेसेले यो घटनालाई स्थानीय सञ्चार माध्यमसँग भयानक दुर्घटना भएको बताएकी छन्। एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको बिबिसीले जनाएको छ।