बिर्तामोड / नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौड्याल र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने निगम बेच्ने धन्दामा संलग्न रहेको खुलासा भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले दुबै जनाविरुद्ध छानविन प्रक्रिया अगाडि बढाएसँगै उनीहरु निगम बेच्ने धन्दामा संलग्न रहेको खुलेको हो।

OM Sai Pathibhara Hospital

अख्तियारले निगमका महाप्रबन्धक पौड्याल र पर्यटन मन्त्रालयका सहसचिव  लामिछानेलाई कारबाही गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । 

उनीहरूलाई कारबाही गर्न अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएपछि उनीहरूको पद धरापमा परेको हो ।

आयोगले गत असोज २२ गते पर्यटन मन्त्रालयलाई निर्देशनात्मक पत्र लेख्दै कारबाहीका लागि सिफारिस गरेको थियो । 

निगमले सरोकारवाला निकायलाई जानकारी नगराई सेयर निजी क्षेत्रलाई बिक्री गर्ने प्रावधानसहितको प्रबन्धपत्र बनाई निगम सञ्चालक समिति अध्यक्षले राजीनामा दिई स्वीकृत नभएको मौका छोपी गैरकानुनी तरिकाले सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेलाई अवैध अध्यक्ष बनाएका थिए । 

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र तथाकथित अध्यक्ष बुद्धिसागर लामिछानेको आपसी मिलेमतोमा अर्का सञ्चालक किशोर कुमार प्रधानले तयार पारेको कम्पनीकरण गर्ने प्रबन्धपत्रको मस्यौदालाई अनुमोदन गरी पर्यटन मन्त्रालयसमक्ष पेश गरेको थियो ।

पौडेल समुहको उक्त हर्कतका विरुद्ध निगमका तीनवटै ट्रेड युनियनले तीन महिनासम्म आन्दोलन गरेका थिए ।

महाप्रबन्धक पौडेल र प्रतिनिधि सञ्चालक लामिछानेको मिलेमतोमा भएको निगम र कर्मचारी हितविपरीतको कार्यविरुद्ध परेको उजुरी माथि छानबिन गरी आयोगले गत असोज १२ गते नै निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार कारबाही गर्न असोज २२ गते मन्त्रालयलाई निर्देशन दिएको थियो ।