भक्तपुर / नेपालीहरूको दोस्रो महान् चाड तिहार आएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । 

माग धेरै भएको र तिहार शुरु भइसकेकाले यहाँ पाला बनाउँदै आएका उक्त समुदायका सिङ्गो परिवारलाई नै यतिखेर पाला बनाउन भ्याइनभ्याई भएको हो ।
    
भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुर थिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायत स्थानका प्रजापति समुदायलाई यतिखेर पालालगायत अन्य सामाग्री बनाउन फुर्सदै छैन । 
   
“तिहार आइसक्यो माटोको पाला, भिउँट र धुपौरोको थुप्रै माग भएको छ, तिहारका लागि सामान जसरी पनि दिनैपर्छ । अहिले भ्याइनभ्याई छ” वर्षौ देखि माटोको भाँडा बनाउँदै आएका तालाको पोर्टरी स्क्वायरका विनोद कुमार प्रजापतिले भने ।
    
वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो भन्दै उनले यो मौकालाई गुम्न नदिन सपरिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको बताए । 

OM Sai Pathibhara Hospital

उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ र वीरगञ्जबाट समेत माग भएकाले पठाउने गरेको बिनोदको भनाइ थियो ।    

तीन वर्ष अगाडिसम्म तिहारमा सय थान पालाको रू. ९० देखि रू ११० रुपैयासम्ममा बिक्री हुने गरे पनि यसवर्ष बढेर व्यापारीलाई होलसेलमा प्रति पाला रू. २ मा बिक्री गर्ने गरेको र खुद्रा भने रू. ४ मा बिक्री भएको उनले बताए ।