कपिलवस्तु / कपिलवस्तुमा एक बालकको अपहरणमा परेको १४ घण्टापछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सकुशल उद्धार गरेको छ । 

शुद्धोधन गाउँपालिका ३ गुलरीका पाँच वर्षीय बालक सलमान खान डफालीको  अपहरणमा परेको १४ घण्टापछि उद्धार गरिएको हो । 

OM Sai Pathibhara Hospital

डफाली मङ्गलबार दिउँसो १ बजे अपहरणमा परेका थिए । डफालीको बुधवार राति पौने ३ बजे उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

प्रहरीमा दिएको जाहेरी अनुसार भारतको सिद्धार्थनगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले अपहरण गरेका थिए । डफालीका बुबासँग आर्थिक लेनदेनको विषय नमिल्दा मुसलमानले बालक अपहरण गरेका थिए । 

कपिलवस्तु र रुपन्देहीको सीमा नजिकबाट मोटरसाइकल प्रयोग गरी भारत लगेको थियो । मुसलमानले पाउनुपर्ने रकम पाएपछि बालकलाई अपहरण मुक्त गरेका थिए । 

बालकलाई सकुशल मुक्त गराउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोग लिएको थियो ।