बिर्तामोड / मध्यभोटेकोसी जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो ।
जुन सर्वसाधारणबाट माग गरिएको भन्दा चार दशमलव १९ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।
आईपीओको बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने तय भएको छ ।