काठमाडौँ / सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ । १ सय ४० जना घाइते भएका छन् । सुडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।

सेनाले आपतकालको घोषणा गर्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ । सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरूको गिरफ्तारीका लागि सेना घर–घर गइरहेको बताइएको छ । संसारभर यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले सुडानलाई दिइने ७० करोड डलरको मद्दत रोकेको छ । सैन्य कूको नेतृत्व गर्ने जनरल अब्देल फतह अल बुरहानले यो सैन्य कारवाहीका लागि राजनीतिक झगडालाई जिम्मेवार बताएको छ ।