भैरहवा / भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने देखिएको छ ।

भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो ।

OM Sai Pathibhara Hospital

लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरू सीधै लुम्बिनी आउँथे ।

पर्यटकको सीधा आगमन नेपालमा रोक्न भारतले लुम्बिनीदेखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवर्द्धन गर्न खोजेको पर्यटन व्यवसायी सञ्जय बजिमय बताउँछन् ।

चार वर्षअघि नै सम्पन्न गरिसक्नुपर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुङ्गो छैन । सरकारी अधिकारीले काम ढिला हुनुमा कोभिडलाई कारण देखाएका छन् । 

लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइएको हो । आर्थिक वर्ष २०७२/७३ मा सुरु गर्दा तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो । 

त्यो समय गुज्रिएर चार वर्ष बितिसकेको छ तर काम अझै सकिएको छैन । बजेटका कारण काम सुस्त भएको भने होइन ।

करिब ३१ अर्ब लागेको यो आयोजना ढिलाइ हुनुमा कोभिड नै मुख्य कारण रहेको विमानस्थलका अधिकारीहरू बताउँछन् ।

विमानस्थल आयोजनाले करिब ९८ प्रतिशत भौतिक प्रगति भएको भनेको छ । आयोजनाका प्रमुख प्रवेश अधिकारीले सम्झौताअनुसार विदेशबाट आउनुपर्ने निर्माण व्यवसायीहरू नआउँदा समय लागेको बताए ।

सञ्चालनअघि गरिने परीक्षण उडानको पनि टुङ्गो लागेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटका लागि भारतलाई औपचारिक आग्रह गरेको छ ।

भैरहवामा एयर थाईले क्यालिब्रेसन फ्लाइट गर्ने भनिए पनि भारतले सहमति नदिँदा परीक्षण उडान हुन सकेको छैन ।

नेपालमा विमानस्थल निर्माणमा ढिलाइ हुनु र सीमा नजिकै ठूला विमानस्थल निर्माण हुनुले लुम्बिनीलाई असर गर्न सक्ने नेपाल टुर्स एन्ड ट्राभल एजेन्टका प्रबन्ध निर्देशकसमेत रहेका बजिमयको तर्क छ ।