बिर्तामोड / यस वर्षको तिहारका लागि ५० हजार भन्दा बढी सयपत्री फूलको माला आयत गरिने भएको छ । बेमौसमी वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गरिने भएको हो । 

फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको बताइएको छ । मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प व्यवसायी लागिपरेका छन् । 

OM Sai Pathibhara Hospital

नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ । उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो ।

फूल उत्पादनमा कमी आए पनि यस वर्ष माग भने बढेको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा जस्तै लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए । 

तामाङका अनुसार यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला रहेका छन् । 

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । 

नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।