काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५१ अङ्क अर्थात् १.०८ प्रतिशतले बढेर २,५८४.५२ अङ्कमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य आज १.५ प्रतिशतले बढेर सेन्सेटीभ इन्डेक्स ४९०.६८ बिन्दूमा आइपुगेको छ । नेप्सेमा आइतबार ट्रेडीङ्ग समूहबाहेक अरु सबै परिसूचक उकालो लागेका छन् । 

OM Sai Pathibhara Hospital

वित्त कम्पनीको परिसूचक सबैभन्दा उच्च ४.११ प्रतिशतले बढेको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल टेलिकम जस्ता कम्पनीको सेयर सूचीकृत रहेको अन्य समूह ३.२४ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूहको परिसूचक पनि २.५२ अंकले बढेको छ । 

वेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । बेस्ट फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर ४४१.१० रुपैयाँ प्रतिकित्तामा अन्तिम कारोबार भएको थियो भने रिडीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६८०.९० रुपैयाँ रह्यो । 

नेप्सेमा कारोबार भएका १६ ओटा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । आज आइसीएफसी फाइनान्सको २ लाख ३८ हजार चार सय ३७ कित्ता सेयर १५ करोड ९१ लाख रुपैयाँमा भएको छ भने एनआइसी एसिया बैंकको १ लाख १३ हजार नौ सय ७८ कित्ता सेयर ९ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । 

आइतबार नेप्सेमा २२५ कम्पनीको २ अर्ब ७७ करोड रुपैयाँ मूल्यका ५८ लाख १८ हजार २५ कित्ता सेयर ३८ हजार एक सय ४७ पटकको कारोबारबाट खरिद–बिक्री भएको छ ।