एजेन्सी / दक्षिण अमेरिकी मुलुक कोलम्बियाका एकजना कुख्यात लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गल्फ क्लान नामक लागूऔषध गिरोहका नाइके डायरो एन्टोनियो उसागा रहेका छन् ।

ओटोनियल भनेर समेत चिनिने उसागालाई कोलम्बियाको एक ग्रामीण इलाकाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

OM Sai Pathibhara Hospital

उनीमाथि थुप्रै परिणाममा कोकिन अमेरिका पठाएको, प्रहरी अधिकारीको हत्या गरेको, आफ्नो समूहमा बच्चाहरूलाई भर्ती गरेको, ती बच्चाहरूमाथि यौन अपराध गरेकोलगायत आरोप छन्।

उनलाई पक्राउ गर्ने क्रममा चलाइएको अप्रेसन ओसिरिसमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त अप्रेशनमा कोलम्बियाको स्पेसल फोर्सका ५ सय सदस्य  र २२ वटा हेलिकप्टर परिचालन गरिएको थियो।

म्यानहाटनस्थित संघीय अदालतले सन् २००९ मा ओटोनियललाई लागूऔषध तस्करीको आरोपमा दोषी ठहर गरेको थियो । 

कोलम्बियाली अधिकारीले वर्षौँदेखि ओटोनियललाई खोजी गरिरहेको थिए । यस क्रममा उनका सहयोगी मारिएका थिए भने परिवारका सदस्य समातिएको र उनको सम्पत्तिमाथि छानबिन गरिएको थियो ।

ओटोनियलबारे सूचना दिनेलाई ८ लाख अमेरिकी डलर दिने कोलम्बियाले घोषणा गरेको थियो । त्यस्तै, अमेरिकाले उनको टाउकाको मूल्य ५० लाख डलर तोकेको थियो ।