इलाम / संखुवासभाको मकालु गाउँपालिका –२ याङ्लेखर्कमा इलामका होमस्टे व्यवसायीको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका –४ श्रीअन्तुका धरणीधर घिमिरे रहेका छन् । 

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेलाई याङ्लेखर्कमा पुगेपछि स्वास्थ्य समस्या देखिएको थियो । उनलाई उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा मंगलबार बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

मृतक घिमिरेको शव बेसक्याम्प आसपासमा नै दाहसंस्कार गरेको बताइएको छ । घिमिरेले सूर्योदय नगरपालिका –४ मा  श्रीअन्तुका होमस्टे सञ्चालन गर्दै आएका थिए । 

गत २८ असोजमा घिमिरेसहित उनका जेठा दाजु एकराज घिमिरे, माइला दाजु रुद्र घिमिरे, छिमेकी मिलन ढकाल, विराटनगर महानगरपालिका –४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र संखुवासभा चैनपुर नगरपालिका –६ का श्याम राउत मकालु आधार शिविर घुम्न गएका थिए।