बिर्तामोड / केही दिन देखि लगातार परेको वर्षाका कारण आएको बाढीपहिरोबाट प्रदेश १ मा ६२ जनाको मृत्यु भएको छ ।

त्यस्तै बाढीपहिरोमा परि २० जना घाइते र १३ जना बेपत्ता भएका छन् भने सयौँ घर डुबानमा परेका छन् । 

OM Sai Pathibhara Hospital

प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् । 

पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु , १० जना घाईते र ६ जना बेपत्ता भएका हुन् । 

यसैगरी इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते तथा १ जना बेपत्ता भएका छन् । 

धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन्  ।

सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । 

मोरङको विराटनगर महानगरपालिका –१२ मा १ जनाको मृत्यु भएको छ । भोजपुरको राम प्रसाद राई गाउँपालिका –६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १–१ जनाको मृत्यु भएको छ ।  

बेमौसमी झरीका कारण सयौँ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरू बिस्थापित भएका छन् ।

डुबान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई बिस्थापित भएका मानिसहरूलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भइरहेको छ । 

हाल सम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ति उद्धार कार्यमा परिचालन भईरहेका छन् भने बाकी प्रहरी तयारी अवस्थामा रहेका छन् ।