कञ्चनपुर / शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्तीको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराउने भएको छ । 

शुक्लाफाँटा नगरपालिका –१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई निकुञ्जले राहत स्वरुप १० लाखका दरले रकम उपलब्ध गराउने भएको हो । 

OM Sai Pathibhara Hospital

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई रु दश लाखका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले जानकारी दिए । 

“जति छिटो कागजी आवश्यक प्रक्रिया पूरा हुन्छ । त्यति छिटो राहत रकम उपलब्ध गराउँछौँ ।” उनले भने, –“मृतक परिवारलाई किरिया खर्चबापत रु ५० हजार रकम एक, दुई दिनभित्रै उपलब्ध गराउँदै छौँ ।”

बुधबार बिहान हात्तीको आक्रमणबाट कार्की दम्पतीको घर आँगनमै मृत्यु भएको थियो । शुक्लाफाँटा नगरपालिकाले समेत मृत्यु भएका परिवारका हकवालालाई जनही २५ हजार रुपैयाँका दरले किरिया खर्च उपलब्ध गराउने भएको छ । 

विपद् व्यवस्थापन समितिको बैठक राखेर निर्णय गरी रकम उपलब्ध गराइने नगर प्रमुख दिलबहादुर ऐरले बताए । दुई वर्ष अघिसमेत नगरपालिका –१ बन्साहमा हात्तीले एक जना स्थानीयवासीको ज्यान लिएको थियो ।