बिर्तामोड / आइतबार देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश १ मा २४ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । 

मृत्यु हुनेमा इलाममा ९, धनकुटामा ६, पाँचथरमा ५, सुनसरीमा २ र उदयपुरमा १ जना रहेका छन् । मृत्यु हुने मध्ये ६ पुरुष, ९ महिला, ७ बालक र २ बालिका रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

प्रवक्ता राईका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको छ । बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन् । 

मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जना र मोरङबाट करिब पाँच सय भन्दा बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

मोरङको  बुढीगंगा गाउँपालिका –१ र २, स्थित शान्ति चौक बस्ती र रतुवामाई नगरपालिका –७ का ३० घर डुबानमा परेका छन् ।