जलेश्वर / महोत्तरीमा महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय पुरनीदेवी महतो, प्रमिलादेवी महतो र उनका दुई छोरा सिकिन्दर र अनिल रहेका छन् । 

OM Sai Pathibhara Hospital

गत बुधबार बिहान जलेश्वर नगरपालिका –४ स्थित सुगा गाउँकी शम्भु महतोकी श्रीमती सुकमरिया देवी टोलमा घुमिरहेका बेला पुरनीदेवीको घर अगाडि पुग्दा उनकी छोरी १३ वर्षीया काजल रुन थालेपछि चारै जनाले उनलाई बोक्सी भन्दै मलमूत्र खुवाएका थिए । 

उनीहरूले सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतो टीका लगाइदिँदै मानव मलमूत्र खुवाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

प्रहरीले घटना स्थलबाट सुकमरियालाई बाँध्न प्रयोग गरेको नाइलनको डोरी, काटेका कपालका टुक्रा र मलमूत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास तथा बियरको बोतलसमेत बरामद गरेको छ ।