धरान / सुनसरीको इटहरी उपमहानगरपालिका –६ स्थित धरान लाइनबाट यार्सागुम्बा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका –४ का २७ वर्षीय समिर गुरुङ र सङ्खुवासभाको चैनपुर नगरपालिका –४ का ३२ वर्षीय श्याम कुमार लिम्बू रहेका छन् । 

OM Sai Pathibhara Hospital

यार्सागुम्बाको अवैध रुपमा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा  प्रादेशिक अनुसन्धान समूह (रीट) विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेका गुरुङ र लिम्बूको साथबाट प्रहरीले ३ केजी यार्सागुम्बा बरामद गरेको छ । 

यार्सागुम्बा सहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।