बिर्तामोड(एजेन्सी) अष्ट्रियाका चान्सलर सेबस्टियन कुर्जले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारमा मुछिएका कुर्जले अनुसन्धान गर्न सहज होस् भनेर आफूले पदबाट राजिनामा दिएको बताएका छन् ।
उनले आफ्नो स्थान विदेशमन्त्री एलेक्जेन्डर स्कालेन्वर्गलाई कार्यभार सुम्पिन प्रस्ताव गरेको समेत बताएका छन् । कुर्जको ओभीपी पिपुल्स पार्टीसँग जोडिएको भ्रष्टाचारको मुद्दामा छापा मार्ने क्रममा कुर्ज र अन्य नौ जना अधिकारीहरु अहिले अनुसन्धानको क्रममा छन् ।
कुर्जले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् । कुर्जले सरकारको राम्रो समाचार मात्र बनाउन एक ट्याबलेट पत्रिकालाई प्रयोग गरेको आरोप छ ।
कुर्जको पार्टीसँग गठबन्धन गरेको ग्रिन पार्टीले कुर्ज चान्सलर पदको लागि उपयुक्त नरहेको बताएको छ । उसले आगामी साता चान्सलरविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चेतावनी पनि दिएको थियो ।
उसले विपक्षी पार्टीसँग नयाँ सरकारको विषयमा पनि वार्ता सुरु गरेको थियो । तर, कुर्जले राजीनामा दिएसँगै ग्रिन पार्टीले विदेशमन्त्रीसँग सहकार्य गरेर अघि बढ्न सकिने बताएको छ ।





































