बिर्तामोड(एजेन्सी) अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमला भएको छ । हमलामा परेर ५० जनाको मृत्यु भएको छ भने एक सय जना भन्दा बढी घाइते भएका छन् । 

शुक्रबार सिया मुस्लिमहरूको सैद आबाद मस्जिदमा भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको सबैभन्दा ठूलो आत्मघाती हमला हो । 

OM Sai Pathibhara Hospital

इस्लामिक स्टेटले यो आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा सिया मुस्लिम समुदायमाथिको आक्रमणमा सुन्नी मुस्लिम चरमपन्थीको हात रहेको आरोप लाग्दै आएको छ ।

अफगानिस्तानमा आईएस के ले लगातार तालिवान सरकारको विरोध गर्दै आइरहेको छ र देशका पूर्वी क्षेत्रमा दर्जनौँ पटक बिष्फोट गराइसकेको छ । 

मस्जिदमा ३ सय बढी व्यक्ति नमाज पढिरहेका बेला एक आत्मघाती आक्रमणकारीले शरीरमा बाँधिएको विस्फोटक पदार्थ बिष्फोट गराएका थिए ।

संयुक्त राष्ट्रसङ्घले घटनाको भर्त्सना गर्दै शुक्रबार भएको विस्फोटको घटना ‘एक धार्मिक संस्थालाई लक्षित गरी यो हप्ता भएको तेश्रो घातक हमला’ भनेको छ । यसअघि आइतबार काबुलको एक मस्जिद र बुधबार पूर्वी शहर खोस्तको एक मदरसामा पनि आक्रमण भएको थियो ।

अफगानिस्तानबाट अमेरिकन सेना बाहिरिएलगत्तै तालिवान समूहले सत्ता कब्जा गरेको थियो । त्यसपछि इस्लामिक स्टेटले लगातार आत्मघाती आक्रमण गर्दै आएको छ । पछिल्ला दिन अमेरिकाले भने तालिवान सरकारसँग कूटनीतिक वार्ता गर्ने घोषणा गरेको छ ।