बिर्तामोड / अपहरणमा परेका सुनसरीका १३ वर्षीय बालकको १० घण्टा पछि सकुशल उद्धार गरिएको छ ।

नेपालबाट भारतमा कामदार पठाउने गिरोहले अपहरण गरेर भारत पुर्याइएका कोसी गाउँपालिका –७ का दिपेन सदालाई आज (शुक्रबार) भारतको सुपौलबाट उद्धार गरिएको हो । 

OM Sai Pathibhara Hospital

बालकलाई बिहीबार दिउँसो करिब ३ बजे अपहरण गरिएको थियो । बालकलाई भारत सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपुर –६ बैरयाकमालबाट भारतीय प्रहरीको सहयोगमा उद्धार उदार गरी नेपाल ल्याइएको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । 

बालकको अपहरण सुपौल जिल्ला ग्राम पञ्चायल बलबदैपुर –६ का मुकुम मियाँले गरेको बुझिएको छ । बालकलाई मियाँकै घरबाट उद्धार गरी नेपाल ल्याइएको थापाले बताए ।

मियाँले नेपालबाट भारतमा ज्याला मजदुरी गर्न मानिसलाई पठाउने गरेको पाइएको छ । थापाका अनुसार मियाँले कोसी गाउँपालिका –७ का भुल्टन सदासहित पाँच जनालाई कामदार खोज्न अह्राएका थिए। तर, सदासहितको समूहले कामदार नपाएपछि  बालकलाई अपहरण गरिएको थापाले बताए।

अपहरणपछि आफूलाई कुटपिट पनि गरेको पीडित बालकले प्रहरीलाई बताएका छन्। बालकलाई शुक्रबार आमाबुवाको जिम्मा लगाइएको छ।