रसुवागढी / नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परीक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । 

बडादशैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो ।

OM Sai Pathibhara Hospital

दैनिकरूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । 

खोलाबगरको चिसो हावा एवम् धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्षण भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

चीनबाट आयात भएका सामग्री कन्टेनरबाट पूरै बाहिर निकाली परीक्षण गर्ने गरेको र नीति, नियमले परिभाषित गरेबमोजिम नियमानुसार शुल्कवापतको राजस्व असुली हुँदै आएको छ । व्यापारीले बडादशैँलाई केन्द्रित गरी स्याउका साथै तयारी पोशाक, जुत्ता चप्पलजस्ता सामग्री आयात गराइरहेका छन् ।

व्यवसायीले आयात गराएका सामग्री छिटोछरितो बजारमा पुगोस् र आम उपभोक्तालाई दशैँका अवसरमा खरीद गर्न सहज होस् भन्ने अभिप्रायले कार्यालयका तर्फबाट गर्नुपर्ने भन्सार प्रक्रिया छिटोछरितो भइरहेको कर्मचारीले बताएका छन् । 

चीनबाट आयात भएका सामग्रीबाट भन्सार शुल्कवापत गत साउनदेखि हालसम्म रू। एक अर्ब ७८ करोडभन्दा बढी राजस्व असुली भइसकेको र दैनिकरूपमा राजस्व असुली बढ्ने क्रम जारी रहेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।

रसुवागढीको मितेरी पुलबाट दैनिकरूपमा नौओटा कन्टेनर व्यावसायिक सामग्री नेपाल भित्रने गरेका छन् । कोरोना नियन्त्रणका लागि रसुवागढी नाकाबाट सामान पल्टी गर्दा क्वारेन्टिनमा बसेका कामदार तथा चालकले काम गर्न पाउने व्यवस्था मिलाइएको भन्सार कार्यालयले जानकारी दिएको छ । 

उनीहरूको अनुगमन तथा रेखदेख नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरिरहेको तथा चीनबाट आयात भएका सामग्री पल्टी गर्दा पिपिइ लगाई स्वास्थ्यको मापदण्ड पालना गर्दै आएको बताइएको छ ।