म्याग्दी / बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८७९ सुरु भएदेखिको भत्ता पाएका छैनन्। 

हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २०० का दरले एकमुष्ठ रु तीन हजार ८०० उपलब्ध गराउने सरकारको कार्यक्रम छ  । 

OM Sai Pathibhara Hospital

अस्पतालले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा सुत्केरीले सरकारले दिएको सुविधाबाट वञ्चित भएको गुनासो गरेका छन्। बेनी अस्पतालमा सुत्केरी भएकी रिना विकले सरकारले दिएको सुविधाबाट बन्चित भएको गुनासो गरे। आमा सुरक्षा कार्यक्रमबाट सङ्घीय सरकारले सुरक्षित प्रसूति सेवामार्फत मातृ शिशु मृत्युदर घटाउन र स्वास्थ्यमा सुधार ल्याउन प्रोत्साहन भत्ता तथा यातायात खर्च दिने व्यवस्था मिलाएको छ। बेनी अस्पतालमा गत साउनदेखि यही असोज २० गतेसम्म १२६ ले प्रसूति सेवा लिएका छन्। 

अस्पतालकी नर्सिङ इञ्चार्ज मनदेवी गौतमले सुत्केरीलाई रित्तै घर पठाउन बाध्य भएको बताए। ुविगतमा सङ्घीय सरकारले पठाउने अनुदानबाट सोधभर्ना दिने गरी अस्पताल व्यवस्थापन समितिको बजेटले साउन १ गतेदेखि नै सुत्केरीलाई भत्ता दिने गरिएको थियोु, उनले भनिन्, ुयसपालि लेखापालले नमानेपछि सुत्केरीलाई भत्ता दिन सकेका छैनौँ।ु गत आर्थिक वर्ष २०७७७८ मा १२३ शल्यक्रियामार्फत गरिनेसहित ७३४ ले बेनी अस्पतालबाट प्रसूति सेवा लिएका थिए। 

लेखापालको दरबन्दी नभएको सो अस्पतालमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पठाएका लेखापालले सहयोग नगरेपछि १२३ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। औषधि, उपकरण आपूर्तिकर्ता, विद्युत्, खानेपानी जस्ता अत्यावश्यक वस्तु आपूर्तिकर्ताको बिल भुक्तानी रोकिएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुई कार्यालयसमेत हेर्ने गरी खटाइएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए। 

गण्डकी प्रदेश सरकारअन्तर्गतको उक्त अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ। आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भए पनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जीतेन्द्र कँडेलले बताए। 

लेखापाल सुवेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखा परीक्षकको टोली लेखापरीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भए पनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए। तलब नपाएपछि बुधबार दिनभर ६४ शय्या बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प बनाएर आन्दोलनमा उत्रिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले तलब उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आजदेखि काममा फर्किएका छन्। 

ठूला चाडपर्व नजिकिएको र लामो समयको बिदा सुरु हुन लाग्दासमेत तलब नपाउँदा काम गर्ने वातावरण नभएको भन्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बुधबार दिनभर आकस्मिक तथा अस्पताल व्यवस्थापन समितिको कार्यालयमा धर्ना बसेपछि वार्ता भएको थियो।