कञ्चनपुर / कञ्चनपुरको बेदकोट नगरपालिका –९ सुन्दरपुरमा चितुवाले एउटै फर्मका ६ वटा बाख्रा मारेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले जयसिंह धामीको फार्मका छ वटा बाख्रा मारेको हो ।
व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा एक लाख २५ हजार रुपैयाँ बढीको नोक्सानी भएको बताए ।
“बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले ६ वटा बाख्रा मारिसकेको थियो”, उनले भने, “चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।”
मारिएका बाख्रा मध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । रु ६ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रापालन गर्दै आएका छन् । फार्ममा पालिएका २० बङ्गुर भने सकुशल रहेका छन् । केही महिनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो ।
चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् । चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताए ।