बिर्तामोड / निजी क्षेत्रका तीन वटा सङ्गठनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।
निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सम्झौता तत्काल पारित गर्न आग्रह गरेको हो ।

नेपाल र अमेरिकी सहयोग परियोजना (एमसीसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । तर, संघीय संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वशर्त पूरा नभएकाले द्विपक्षीय सम्झौता भएको चार वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन् ।
सम्झौता अनुसार विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतको काम अझै अघि बढ्न सकेको छैन । उनीहरूले नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण भए उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, – ‘कोभिड महामारी पछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना रहेकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गर्दछौँ ।’
कोरोना महामारीका कारण आन्तरिक स्रोत खुम्चिएको बेला ५० करोड अमेरिकी डलरको सहायता नेपालका लागि महत्वपूर्ण भएको उनीहरूको भनाइ छ ।