बिर्तामोड / गत भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङका तेज बहादुर कार्कीको परिवार नै सखाप बनाउने गरी भएको विभत्स हत्याकाण्डका अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधारगृह पठाउने आदेश दिएको हो ।

तेज बहादुरको परिवारका छ जना सदस्यको विभत्स तवरले भएको हत्यामा छिमेकी अनि नातामा भाइ समेत रहेका लोकबहादुरका बुवा रणबहादुर र काका खड्ग बहादुरको परिवारका पाँच जना सदस्य संलग्न रहेको भन्दै प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको थियो ।
घटनाको विषयमा सङ्खुवासभा प्रहरीले अनुसन्धान गरी असोज १५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि सुरु भएको थुनछेक बहस सोमबार सकिएको हो ।
हत्यामा संलग्न अभियुक्तमध्ये लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई अदालतले पुर्पक्षका लागि जेलमा पठाउने आदेश दिएको छ ।
घटनामा संलग्न अर्का अभियुक्तको उमेर भने १७ वर्ष मात्रै भएकाले उनलाई बाल सुधार गृहमै राखेर मुद्दाको पुर्पक्ष गरिने भएको हो ।
गत भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका –१, उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको विभत्स तवरले हत्या भएको थियो ।
प्रहरीले सबैभन्दा पहिले पक्राउ गरी सार्वजनिक गरेका लोक बहादुर कार्कीलाई देखाएर अन्यको कानुनी कारवाहीबाट उम्कने कोसिसका बावजुद हत्या पछि खड्ग बहादुर र रणबहादुरकै घरमा बसेर अनुसन्धानमा जुटेका प्रहरी अधिकारीले घटना भएको दुई साता पछि आफैं बसेको घरका मुख्य सदस्य सहितलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।