खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘इनटरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) को ‘प्यान्डोरा पेपर्स’ले सार्वजनिक गरेको हेभन मुलुकमा कारोबार देखाएर मुलुककै अर्थतन्त्र टाँट पल्टाउने नेपालीको सुचीमा ठुलो औधोगिक घराना गोल्छा अर्गनाईजेसन समेत रहेको खुलेको छ ।

आईसीआईजेले ‘प्यान्डोरा पेपर्स’ का नाममा सार्वजनिक गरेको खोजमा गोल्छा परिवारका पाँच सदस्यले ट्याक्स हेभन मुलुक (कर पारदर्शिता नभएको) ब्रिटिश भर्जिन आइल्याण्डमा आफ्नै नाममा कम्पनी खोलेर सोही कम्पनीबाट वैदेशिक लगानीका नाममा अवैध रुपमा कमाएको पैसा मुलुक भित्राउने गरेको खुलेको हो ।

गोल्छा परिवारका लोकमान्य गोल्छा, हाल दिवंगत भइसकेका उनका दुई भाइ , चन्द्रकुमार गोल्छा र हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा ‘फ्ल्याटउड लिमिटेड’ नामक कम्पनी संचालनमा रहेको सार्वजनिक भएका तथ्य र प्रमाणले पुष्टि गरेको छ । कम्पनी दर्ताका लागि समेत उनीहरूले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेको पाईएको छ । नेपालको कानून अनुसार गोल्छा परिवारको लगानी गैरकानूनी र दण्डनीय मानिन्छ ।