अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संस्था  ‘इनटरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज प्यान्डोरा पेपर्स मार्फत सार्वजनिक गरेको छ ।

विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ अर्थात (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भनेर सार्वजनिक भएको छ ।

अवैध आर्जन गरेको पैसा लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने यो डरलाग्दो खेलमा नेपाली कांग्रेसका नेता समेत रहेका उद्योगी विनोद चौधरी सहित १६ जना रहेको समेत खुलेको छ । विश्वकै अर्थतन्त्र कमजोर बनाउने गरी सञ्चालित छायाँ अर्थतन्त्र चलाउनेको सुचीमा नेपालीको पनि नाम रहेको खुलेपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ ।

९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलिब्रेटी र अपराधमा संलग्नले अफशोर खाता र सेल कम्पनी मार्फत अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको सार्वजनिक भएको हो ।

अधिकार  सम्पन्न सरकारी निकाय र राजनीति दल अनि तिनका नेताको परोक्ष र प्रत्यक्ष संरक्षणमा अवैध रुपमा करछली गरी आर्जन गरेको पैसा विदेश लगेर नेपाल ल्याएर वैध बनाउने यो डरलाग्दो खेलमा संलग्न नेपालीको वास्तविकता सार्वजनिक भएसँगै मुलुकको आर्थिक क्षेत्र नै तरंगित  बनेको छ ।

नेपालको कानुनमा रहेका छिद्रको दुरुपयोग गरी अनि राष्ट्र वैंक ऐनको समेत धज्जी उडाउँदै मुलुक नै टाट पल्टाउने यो डरलाग्दो खेलमा संलग्नका विषयमा हालसम्मकै ठुलो खोज प्यान्डोरा पेपर्स सार्वजनिक भएपछि मुलुकको आर्थिक क्षेत्र नै तरंगित बनेको हो ।

११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोजमा १४० भन्दा बढी सञ्चारमाध्यम र सञ्चार संस्था  सहभागी रहेका थिए ।

संसारभर छायाँ अर्थतन्त्र चलाउनेको विषयमा गरिएको खोज अनि तयार पारिएको प्यान्डोरा पेपर्समा १६ नेपालीको ट्याक्स हेभन मुलुकमा रहेको लगानी पुष्टि हुने तथ्य र प्रमाण समेत सार्वजनिक भएको छ ।