सोलुखुम्बु / सोलुखुम्बुको सोताङ गाउँपालिका –१ को एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता भएकी छिन् । 

सोताङको हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत असोज आठ गते (शुक्रबार) देखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविता कटवालले जानकारी दिइन् । 

OM Sai Pathibhara Hospital

कटुवालका अनुसार कार्कीले अपराह्न चार बजेर २२ मिनेट जाँदा साथीलाई सन्देश पठाएको र चार बजेर २५ मिनेट जाँदा मोबाइल अफ भएको छ।

मासिक बैठक सञ्चालनका लागि माप्य दुधकोसी –६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्ने क्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताए।

सम्पर्कविहीन भएको थाहा हुनेबित्तिकै स्थानीयवासी, वाकु प्रहरी चौकी र इलाका प्रहरी कार्यालय सोताङकाटबाट प्रहरी निरीक्षक नवीन राईको टोली परिचालन भए पनि पत्ता लगाउन नसकेपछि सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो।

अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको छ भने एक हप्तापछि प्रहरी निरीक्षक राईको टोलीसमेत फर्केको छ।

अहिले प्रहरी चौकी वाकुको टोलीले त्यस क्षेत्रमा अनुसन्धानसहित खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ। घटनास्थलबाट फर्केको टोलीले अहिले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिइन् ।