सल्यान / सल्यानमा जिपको ठक्करबाट घाइते भएका पाँच जना छात्रामध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली रहेका छन् । 

शुक्रबार बिहान थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले विद्यालय जाँदै गरेका पाँच जना छात्रालाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भिर घाइते भएका पाँचै जनको जिल्ला अस्पताल दाङमा उपचार भइरहेको थियो । 

OM Sai Pathibhara Hospital

घाइतेमध्ये रेखा र सुनिताको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माले जानकारी दिए।  

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले घाइतेमध्ये १५ वर्षीया सुशीला नेपालीको दाङमा उपचार सम्भव नभएपछि बाँके रिफर गरिएको जानकारी दिए । 

१८ वर्षीया मिना परियार, १८ वर्षीया दीपा बुढाथोकीको उपचार कहाँ भइरहेको छ  भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ।

‘यहाँबाट सबैलाई दाङ पठाएका हौं,’ प्रवक्ता पौडेलले भने, ‘तर, उनीहरू दुई जनाको अभिभावक सम्पर्कमा आउनु भएको छैन। त्यसैले दाङमै उपचार भइरहेको छ वा बाहिरी थाहा हुन सकेन।’

उनीहरु सबै शारदा नगरपालिका –१ स्थित शिबजन माध्यमिक विद्यालय सितलपाटीमा अध्यनरत छन्।