सिराहा / म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारी कारबाहीमा परेका छन् ।
चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारी कारबाहीमा परेका हुन् ।
अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोसी नगरपालिका –१ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्योगमाथि कारबाहीस्वरुप रु १०/१० हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।
अमेश्वर किराना पसलबाट म्याद गुज्रेको आटा २० किलो, परमात्मा तेल पाँच लिटर र सोयाविन १८ प्याकेट, दीपा किराना पसलबाट बियर ११ बोतल, रेडबुल १८ क्यान तथा आशाराम पाउरोटी उद्योगबाट लेबल नभएको १५० प्याकेट वनकुकिज पाउरोटी जफत गरी नष्ट गरेको प्रमुख सिंहले बताए ।
त्यस्तै सप्तकोशी –१ स्थित श्रीकृष्ण होटलबाट छ बोतल र गुप्ता किराना पसलबाट सात बोतल म्याद गुज्रेको बियर नियन्त्रणमा लिई नष्ट पारेको जनाइएको छ ।
सप्तरीको खडक नगरपालिका –७ स्थित कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरिद बिक्री पसललाई रु पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई रु २० हजार जरिवानासमेत गरिएको छ । अनिल ट्रेडर्सबाट म्याद गुज्रेका खानेतेल, मसाला, ग्लुकोज, पानमसला लगायतका सामग्री बरामद गरिएको थियो । यस्तै शिव किराना पसलबाट म्याद गुज्रेका बियर, चिसो पेयपदार्थ, मसाला, ग्लुकोज, भुजियालगायतका सामग्री बरामद गरिएको प्रमुख सिंहले बताए ।
अनुगमनका क्रममा बजारका अन्य पसलबाट पनि विभिन्न प्रकारका अखाद्य र म्याद गुज्रेका वस्तु जफत गरी तत्कालै नष्ट गरिएको संयुक्त अनुगमन टोलीका नेतृत्वकर्ता सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए । अनुगमनका क्रममा निर्मल जल उद्योगद्वारा उत्पादित बिना लेवलका २१ थान पानीका जार समेत नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
त्यस्तै सिरहाको लहानस्थित राकेश कोल्ड स्टोरमाथि कारबाही स्वरुप रु पाँच हजार जरिवाना गरिएको छ । अनुगमनका क्रममा उक्त कोल्डस्टोरबाट वियर, पेय पदार्थ तथा लेबल नभएका पानीका जार फेला परेपछि कारबाही गरिएको प्रमुख सिंहको भनाइ छ ।
यसैबीच चाडपर्वलाई लक्षित गरी सिरहा र सप्तरीका होटलको वर्गीकरण गरेर स्टिकर टाँस्नसमेत सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले होटलको अनुगमन गरी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित सात होटलमा स्तर निर्धारण गरेर स्टिकर टाँस गरेको हो ।
महुलीस्थित पुरानो चौधरी होटल र मनकामना खाजा तथा पेडा भण्डारमा ९ग० वर्ग तथा अन्य पाँचवटा होटलमा सामान्य ९घ० वर्गको स्टिकर टाँसिएको प्रमुख सिंहले जानकारी दिनुभयो । सप्तरीपछि सिरहाका विभिन्न स्थानमा रहेका होटलमा समेत स्टिकर टाँस गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।