बिर्तामोड / आफ्नै बुबाबाट पटकपटक बलात्कृत भएकी मोरङको बेलबारी –११ की १४ वर्षीया बालिकाले न्याय नपाएको गुनासो गरेकी छिन् ।

बालिकाले बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आफूले अझैपनि न्याय नपाएको गुनासो गरेकी हुन् ।

उनलाई आफ्नै बुबाले पटकपटक बलात्कार गरेपछि गत भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले भदौको पहिलो सातामा ती व्यक्तिलाई पक्राउ गरेको थियो । 

गत भदौ ७ गते सोमबार जिल्ला अदालत मोरङमा म्याद थप गरिएको थियो । तर अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा उनलाई छोडेपछि बालिका र उनकी आमाले पत्रकार सम्मेलन गरेर न्याय नपाएको गुनासो गरेका हुन् ।

बालिका बुबाको साथमा बस्दै आएकी थिइन् । बेलबारीमै कक्षा ९ मा पढ्ने उनले ५१ वर्षीय बुबाले तीन वर्षदेखि पटक–पटक बलात्कार गरेको बताएकी थिइन् ।

११ वर्षको उमेरदेखि आफूलाई पटक–पटक बाबुले बलात्कार गरेको बताउँदै उनले पछिल्लो पटक २०७७ साल माघ २० गते राति आफ्नै घरमा धाकधम्की दिँदै डर देखाएर बलात्कार गरेको बताइन् ।

बालिकाले किटानी जाहेरी दिएपछि हामीले पक्राउ गरी मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । तर अदालतले उनलाई धरौटीमा छोडेको श्रेष्ठले बताए ।