विराटनगर / विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका –१६ पारिजात चोकबाट नियन्त्रणमा लिएको छ। 

भन्सारबाट जाँचपास गराएर निस्किएको ३४ लाख बराबरको कपडा बोकेको उक्त ट्याक्टरमा भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) मा गाडी नम्बर उल्लेख नभएको पाइएपछि प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो । 

OM Sai Pathibhara Hospital

नियन्त्रणमा लिएको बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टर र ३४ लाखको लत्ताकपडा अनुसन्धानको लागि इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार भीसीटीएस नम्बर उल्लेख नभएपछि प्रहरीले चालक जोगवनीका ३२ वर्षीय पंकज यादवलाई पनि नियन्त्रणमा लिइएको छ । 

सो कपडा विराटनगरस्थित जया इम्पेक्सले आयत गरेको प्रहरीले जनाएको छ । भिसिटिएस नम्बर उल्लेख नगरी सामान आयात गर्दा कम मूल्याङ्कन र भन्सारको कर्मचारीसँगको मिलेमतोमा राजस्व छली गरेको हुनसक्ने भएको भन्दै थप अनुसन्धान र कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाएको पौडेलले बताए ।