फुङ्लिङ / ताप्लेजुङको सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाको पुनःनिर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो । 

जिल्लाको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आगलागी भएको थियो । 

OM Sai Pathibhara Hospital

कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर्थात मुहार फेरिँदै गएको छ । 

हालसम्ममा ७० प्रतिशत संरचना पुनःनिर्माण भएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । करिब डेढदर्जन बढी घर संरचना निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । 

आठराई त्रिवेणी, मैवाखोला, मेरिङदेन र मिक्वाखोला गाउँपालिकासहित तमोर पारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनःनिर्माणमा तीव्रता दिइएको स्थानीयवासीको भनाइ छ । 

साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको बजार अर्थात व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता सूर्यमान बराइली बताउँछन् । उनका अनुसार चारवटै गाउँपालिकाका स्थानीय उपभोक्ताको सबै उपभोगका सामान खरिद बिक्री गर्ने केन्द्र दोभान बजार नै हो ।

आगलागी भएको दोभान बजारमा नयाँ संरचना निर्माण गर्नका लागि स्थानीय सरकारका रूपमा रहेको मेरिङदेन गाउँपालिकाले भने पुनर्निर्माण मापदण्ड बनाएको छ । 

नयाँ संरचना निर्माणमा पिलर (खम्बा) सहित इँटा तथा ढुङ्गा प्रयोग गरेर अनिवार्य पक्की घर निर्माण गर्नुपर्ने गाउँपालिकाले मापदण्ड बनाएको थियो । हाल सोही मापदण्डअनुसार घर तथा संरचनाहरू निर्माण हुँदै आएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताए ।

दोभानलाई नमूना बजारका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले पुनर्निर्माण मापदण्ड बनाएको गाउँपालिकाले जनाएको छ । अधिकांश काठ तथा जस्तापाता प्रयोग गरेर बनाइएका कच्ची घर संरचना भएका कारण आगलागीबाट छोटो समयमै आधा बजार जलेर खरानी भएको थियो । त्यसबेलाको आगलागीले ४० करोडभन्दा बढीको क्षति भएको थियो ।