स्याङ्जा / स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनकी आमा विमया सार्कीले जानकारी दिइन्।
दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा विमयाले बताएकि छन् ।
“सुस्त मनस्थितिको मेरो छोरो हराएको यतिका दिन भयो, कहाँ छ, के गर्दैछ भन्ने अत्तोपत्तो छैन,” विमयाले भनिन्, “छोरालाई खोज्नका लागि आफन्त, इष्टमित्र जताततै खबर ग¥यौँ तर केही मेसो आएको छैन ।”
भाइको खोजीका लागि फेसबुक, रेडियोहरुमा सूचना बजाएको दिदी लच्छिमाले बताएन् । कोही कसैले देखेको छ कि कतै छ कि भनेर भाइको फोटो छापेर ठाउँठाउँमा पोष्टर बनाएर टाँसेको दिदी लच्छिमा बताउँछिन् । “भाइ हराएको यत्तिका दिन भयो कहाँ के गर्दै होला, जिउँदो छ÷छैन, खोजी कार्य जारी राखेका छौँ तर केही पत्तो लागेको छैन,” लच्छिमाले भनिन्, “भाइको बाटो हेरेर परिवार चिन्तामा तड्पिएका छौँ ।”
स्पष्टसँग बोल्न नसक्ने, आफू जन्मेको ठाउँसमेत बताउन नसक्ने समस्या उनमा छ । अन्दाजी पाँच फिट अग्लो, मोटो जिब्रो भएको, दाँत किराले खाएको र आँखा रातो भइरहने समस्या राजकुमारमा छ । खोजीका लागि वडा प्रहरी कार्यालय वालिङ, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, पाल्पा लगायतका कार्यालयहरुमा फोटोसहित खोजी गरिदिनका लागि निवेदन दिइएको लच्छिमाले बताएकि छन् ।