बिर्तामोड (राजधानी दैनिकबाट) नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार पूर्णत असफल भएकाले अब ताजा जनादेशको विकल्प नभएको बताएका छन् । उनले ताजा जनादेशबाट आउने सरकारले मात्रै मुलुक र जनताको मुहारमा खुसी ल्याउन सक्ने बताए ।

नेकपा एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार उपसमितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग मंगलबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ओलीले वर्तमान सरकारले संविधान र कानुनको हुर्मत लिएको र जनताको चाहनामाथि कुठाराघात गरेकाले यो सरकार छिट्टै महासंकटमा पर्ने दाबी गरे । उनले सरकारका जनविरोधी र संविधान विरोधी कार्यप्रति खबरदारी गर्न सम्पादकहरूसँग आग्रह गरे ।

OM Sai Pathibhara Hospital

अध्यक्ष ओलीले सरकारले चलिरहेको संसद मध्यरातमा हठात् अन्त गरी षड्यन्त्रमूलक किसिमले अध्यादेश ल्याएर संविधान कुल्चने काम गरेको आरोप लगाए । सरकारले अध्यादेश ल्याउनुअगावै त्यस सम्बन्धमा निर्वाचन आयोगले नियमावली ल्याउनु ठूलो षड्यन्त्र र जालझेल हो, अब यस्ता जालझेल र षड्यन्त्र लामो समयसम्म टिक्न सक्दैन्’ अध्यक्ष ओलीले भने ।

ओलीले हिजोको दिनमा अध्यादेश ल्याउँदा प्रतिगमन भयो भन्नेहरू आज आफैं अध्यादेश ल्याउने खेलमा लागेको स्मरण गर्दै विधि पद्धति र नैतिकताका कुरा देखाउने दाँत मात्रै रहेको स्पष्ट पारे । संसद् चालू रहेको अवस्थामा अध्यादेश फिर्ता लिएको सूचना जारी गर्नु पनि संविधानविरोधी कार्य भएको ओलीले दाबी गरे ।

एमाले अध्यक्ष ओलीले वर्तमान अपवित्र गठबन्धनको सरकारले विभिन्न वहानामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कमजोर बनाउने काम गरेको र त्यो आपूmहरूका लागि सह्य नहुने चेतावनी दिए । ‘अहिले देशलाई बर्वाद पारिँदै छ, लोकतन्त्र धरापमा पर्ने खतरा बढेको छ, यसविरुद्ध एमालेले सशक्त प्रतिरोध गर्नेछ,’ अध्यक्ष ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने आपूmहरूको निर्णय रोकेर सर्वोच्च अदालतले गल्ती गरेको दोहोर्याए । अहिले संसद् चल्न सकेको छैन त्यसैले ताजा जनादेशबाट नयाँ संसद् नबन्दासम्म भद्रगोल अवस्थामा रहेको संसद् चल्न सक्दैन् ।’ अध्यक्ष ओलीले भने । ओलीले सत्यभन्दा माथि अदालत पनि नहुने भएकाले सर्वोच्चले गरेको असत्य फैसलालाई राम्रो भन्न नसकिने स्पष्ट पारे । ओलीले अदालतको पछिल्लो गतिविधिले जनतामा यसप्रतिको विश्वास र आशा घटेर गइरहेको बताए ।

एमसीसीबारे सम्पादकहरूले राखेको जिज्ञासामा अध्यक्ष ओलीले एमसीसी सम्झौता गर्ने कांग्रेस र माओवादी केन्द्र भएकाले एमसीसी सम्बन्धी निर्णय गर्ने दायित्व पनि कांग्रेस र माओवादी केन्द्रकै रहेको स्पष्ट पारे ।

एमाले अध्यक्ष ओलीले वर्तमान सरकार र अर्थमन्त्रीले बजेटमार्फत कालो धनलाई चोख्याउने नीति ल्याएकाले सरकार बिचौलिया र माफियाको प्रभावमा परेको दाबी गरे । ‘वर्तमान सरकार कालो धनको कारोबारमा डुबुल्की मार्न उद्धत छ, त्यसैले सरकारको त्यस प्रकारको गलत धन्दाविरुद्ध सबै जना विरोधमा उत्रनुपर्छ,’ ओलीले भने । कालोधनलाई मान्यता दिने सरकारी कार्यले नेपाल विश्वस्तरमा नै खतराको सूचीमा पर्न सक्ने भएकाले कालोधन चोख्याउने कार्यविरुद्ध एमालेले सशक्त आन्दोलन गर्ने चेतावनी ओलीले दिए ।

ओलीले गठबन्धन सरकार आफ्नै कारणले छिटै ढल्ने र निर्वाचनको घोषणा हुने दाबी गरे । अब छिट्टै निर्वाचन हुने र निर्वाचनमा जनताले फेरि एमालेलाई बहुमत दिएर शासनमा पठाउने दाबी गरे । ‘अब हुने निर्वाचनपछि हामी बहुमतका साथ सरकारमा जानेछौं र समृद्ध नेपाल र सुखी नेपालीको योजनालाई मूर्त रूप दिन्छौं,’ एमाले अध्यक्ष ओलीले भने ।

ओलीले एमालेमा सुदृढीकरण अभियान द्रुत गतिमा अघि बढेको र एमाले सबै जनताको ढुकढुकी बन्ने दाबी गरे । ओलीले जनताको बहुदलीय जनवादमार्फत मुलुक र जनताको अनुहारमा खुसी ल्याउने गरी विभिन्न महत्वपूर्ण कार्यक्रम ल्याउने स्पष्ट पारे । ओलीले एमालेले लोकतन्त्र प्राप्तिको आन्दोलनमा असाधारण योगदान गरेको स्मरण गर्दै लोकतन्त्रलाई मूल्य र मान्यताअनुरूप सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

उनले एमालेले विधान अधिवेशन र महाधिवेशनपछि एमालेले देश र जनतालाई केन्द्रित गरी महत्वपूर्ण कार्यक्रम ल्याउने र सोही कार्यक्रममार्फत नै एमाले आमजनताको प्रिय पार्टी हुने दाबी गरे । एमाले अध्यक्ष ओलीले आफ्नो सरकारले तीन वर्षको अवधिमा मुलुकमा विकास र सुशासनका क्षेत्रमा उल्ल्लेख्य कार्य गरेको दाबी गरे । उनले आगामी निर्वाचनमा एमालेको मुख्य एजेन्डा नै तीन वर्षमा थालिएको विकास र समृद्धिको कार्यक्रम र त्यसलाई पूरा गराउन फेरि पनि एमालेकै सरकार आवश्यक पर्नेगरी जनतासमक्ष जाने स्पष्ट पारे ।