बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।

रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो ।

OM Sai Pathibhara Hospital

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले एसएसपी चक्रबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका छन । समितिमा एसपी कृष्ण कोइराला, डीएसपी रविन कार्की, इन्सपेक्टर ईश्वर कार्की र सई घनश्याम उप्रेती रहेका छन ।

अपहरणको आरोपमा पक्राउ परेका दुर्गाबहादुर बुढाथोकीलाई नाम नमिलेको भन्दै जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गरेपछि प्रहरीले चरम लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो ।

समितिलाई प्रकरणमा प्रहरीको भूमिकाबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । गत मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले भ्याली कोल्ड स्टोरका सञ्चालक रावलको अपहरणमा संलग्न भनिएका कुमार बुढाथोकीलाई सफाइ दिएको थियो ।