विराटनगर / मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आज (आइतबार) देखि सुरु हुँदैछ। 

उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो। 

OM Sai Pathibhara Hospital

सो मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालको नेतृत्वमा सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता मनिष बाबु पोखरेल लगायतले बहस गर्ने छन्। 

तस्कर गरेको ३८ क्विन्टल सुन मध्ये साढे ३३ किलो सुन गायब भएपछि तस्करमा संलग्न शाक्यको २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका –१ मा  हत्या गरिएको थियो । हत्या अनुसन्धानका क्रममा सुन तस्करीको र्‍याकेट पत्ता लागेको थियो ।

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो। 

सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ। 

७७ जना अभियुक्तमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन्। २२ जना फरार नै रहेको र अदालती कारबाहीको प्रक्रियामा नआएको स्रोतले बताएको छ।