काठमाडौँ  (कान्तिपुर दैनिकबाट)।  अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) को ७६ औं महासभाका क्रममा हुने भनिएको सार्क परराष्ट्र मन्त्रीस्तरीय अनौपचारिक साइडलाइन बैठक रद्द भएको छ । अफगान प्रतिनिधिले ‘गेट क्र्यास’ गर्ने कारण देखाउँदै बैठक रद्द गरिएको हो ।


OM Sai Pathibhara Hospital

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले भने सदस्य मुलुकबीच सहमति नजुटेपछि बैठक रद्द भएको जनाएको छ । तर सदस्य मुलुकबीच सहमति जुट्न नसक्नुको कारणबारे सचिवालयले केही उल्लेख गरेको छैन ।


सार्क अध्यक्ष नेपालले असोज ९ गतेका लागि मन्त्रीस्तरीय बैठकको प्रस्ताव गर्दै अफगानिस्तानबाहेकका सदस्यलाई निम्तो पठाएको थियो । अफगानिस्तान सार्कको कान्छो सदस्य हो । बुधबार नै राष्ट्रसंघका लागि नयाँ राजदूतका रूपमा सुहेल शाहिनलाई पठाएको अफगानिस्तानले महासभामा बोल्न पाउनुपर्ने भन्दै पत्र लेखिसकेको छ ।


भारतसहितका सदस्य राष्ट्रले न्युयोर्कमा रहेको तालिवान नेतृत्वको अफगान कूटनीतिक प्रतिनिधिले गेट क्र्यास (बिनानिमन्त्रणा प्रवेश) गरे भने के गर्ने भन्दै नेपालसँग जवाफ मागेका थिए । नेपालले बैठक गर्न सकिने तर तालिवान प्रतिनिधि आएको खण्डमा रोक्न नसकिने जवाफ दिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । साइडलाइन बैठक न्युयोर्कको एक होटलमा तय थियो । अफगानिस्तानमा तालिवान सरकार आएसँगै भारत बेखुसी छ ।


तालिवान प्रतिनिधिले गेट क्र्यास गर्नबाट नेपालले रोक्न नसक्नेबारे सदस्य मुलुकलाई पत्र पठाउने परराष्ट्रका एक अधिकारीले बताए । ‘हामीले तालिवानको गेट क्र्यासबारे रोक्ने प्रतिबद्धता जनाउन नसक्ने बतायौं । नेपालमा बैठक भएको भए हाम्रो सुरक्षा हुन्थ्यो, तालिवान प्रतिनिधिलाई बैठक हलमा आउनबाट रोक्न सकिन्थ्यो । तर अमेरिकामा रोक्न नसकिने जानकारी दियौं,’ ती अधिकारीले भने । जवाफपछि भारतलगायत देश सहभागी नहुने बताएपछि बैठक रद्द गरिएको ती पदाधिकारीले प्रस्ट पारे ।